निर्वाचनको आचारसंहिता उल्लघंन गर्नेलाई यस्तो हुन्छ सजाय

आइतबार रातिदेखि मौन अवधि सुरु

काठमाडौं । दोश्रो चरणको स्थानीय तहको चुनावका लागि गएराति बाह्र बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिता लागु भएको समयअवधि भित्र कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताले प्रचारप्रसार गर्न मनाइ गरिएको छ ।

मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुने भएकाले त्यस समयमा राजनीतिक दलहरूले प्रचारप्रसार जस्ता कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेखित छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने–‘ त्यसो गर्नु आचारसंहिताविपरीत हुन्छ । सो किसिमका गतिविधि भएको पाइए कारबाही हुन्छ ।’

यदि कसैले मौन अवधिको उल्लंघन गरेको पाइएमा १ लाखसम्मको जरिवानादेखि उम्मेदवारको उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने नियम रहेको छ ।

स्थानीय तहको दोस्रोे चरणअन्तर्गत १४ असार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले चुनावको दिन मतदान सम्पन्न नभएसम्म मौन अवधि रहने बताएको छ । दोस्रो चरणको निर्वाचनमा प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

मौन अवधिमा के गर्न पाइँदैन
आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) अनुसार निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ ।’

सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमद्वारा मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

नियम उल्लंघन गरेमा यस्ता छन जरिवाना
मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ ।

त्यसलाई बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ ।

मतदान केन्द्रमा भएको राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा संकेत नभएको पहिरन, परिचयपत्र र ब्याज मात्र प्रयोग गर्नुपर्ने,

कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने उल्लेख छ ।

शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकिदिएको सवारीसाधन भने प्रयोग गर्न पाइने छ ।