कोलम्बियामा डुँगा डुब्योः ९ जनाको मृत्यु,२८ वेपत्ता

डुँगा डुब्नुको कारण अझै खुलेको छैन

कोलम्बिया । कोलम्बियाको उत्तर पश्चिम भेगस्थित एक जलाशयमा करिब १५० यात्रु सवार डुंगा डुबेको प्रहरीले बताएको छ।

उक्त डुंगा पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुबेको हो।सो दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने २८ जना वेपत्ता भएको प्रहरीले जनाएको छ।

सो डुंगामा पानी छिरेपछि छिटोछिटो डुब्न थालेको बताइएको छ। तत्कालै अन्य डुँगाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए।

स्थितिको जाँचबुझ गर्न हवाइ सेनाको हेलिकप्टर त्यहाँ पठाइएको छ। घटनास्थल मेडेइन शहरबाट केही पर रहेको छ।

स्थानीय सरकारी अधिकारीहरुले स्थिति गम्भीर रहेको एएफपीलाई प्रतिक्रिया दिएका छन्। डुँगा डुब्नुको कारणबारे थप विवरण प्राप्त भइसकेका छैनन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)