ब्रिटेनमा ८०० परिवारलाई स्थानान्तरण गरिदै

अग्ला भवनमा आगो प्रतिरोधी नरहेको आशंका उत्पन्न

ब्रिटेन । ब्रिटेनमा ८०० परिवारलाई अग्ला भवनमा अग्नि सुरक्षाका कामहरु सम्पन्न नहुञ्जेल त्यहाँबाट सुरक्षित स्थानमा सार्न शुरु गरिएको छ।

उत्तरी लण्डनका पाँचवटा टावर ब्लकमा बसोबास गर्ने ती परिवारको स्थानान्तरणको निर्णय ग्रेनफेल टावरमा आगलागी भएको एक हप्तापछि आएको हो।

स्थानीय अधिकारीहरुले अनुगमनका क्रममा ती भवनको बाहिरी भागमा राखिएको क्ल्याडिंग भनिने तह आगो प्रतिरोधी नरहेको आशंका उत्पन्न भएको जनाएका थिए।

ती भवनमा भीषण आगलागीपछि ७९ जनाले ज्यान गुमाएको ग्रेनफेल टावरकै जस्तो क्ल्याडिंग सामाग्री प्रयोग गरिएको पाइएको थियो।

करिब ४ हजार बासिन्दालाई अस्थायी आवासमा स्थानान्तरण गरिनेछ तर सूचना नै नदिइ अन्यन्त्र सार्न लागिएको भन्दै कैयौँ मानिसले चिन्ता जनाएका छन्।

उत्तरी लण्डनको क्याम्डेन काउन्सिलमा रहेका टावर ब्लकहरुका ८०० भन्दा बढी परिवारलाई अन्यन्त्र सार्ने प्रकिया अघि बढाइएको हो।

उक्त काउन्सिलले पाँचवटा बहुतले भवनमा आपतकालीन अग्नि सुरक्षाका कामहरु गर्नुपर्ने उल्लेख गरेको छ र त्यहाँ बसोबासका लागि बुकिङ्ग गर्न पनि बन्द गरिएको उल्लेख गरेको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)