ब्रिटेनले युरोपेली नागरिकलाई नयाँ आप्रवासी हैसियत प्रदान गर्ने

शिक्षा र स्वास्थ्यमा राम्रो व्यवस्था हुने

ब्रिटेन । प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) का नेताहरु समक्ष ब्रिटेनले इयु छोडेपछि आफ्नो देशमा रहेका लाखौं इयु नागरिकको अधिकार सुरक्षित गर्ने नयाँ योजना प्रस्तुत गरेकी छन्।

ब्रिटेनमा पाँच वर्ष बसोबास गरेका इयु नागरिकलाई नयाँ आप्रवासी हैसियत प्रदान गर्ने आफ्नो योजना रहेको जानकारी मेले ब्रसल्समा युरोपेली नेताहरुलाई दिएकी छन्।

उनका अनुसार सेटल्ड इयुू भनिने–‘आप्रवासी हैसियत दिइएपछि इयुका नागरिकले ब्रेक्जिटपछि पनि ब्रिटेनमा शिक्षा, स्वास्थ्य र अन्य सुविधा प्राप्त गर्न सक्ने छन्।’

मेले ब्रिटेनमा बसोबास गर्ने कोही पनि इयु नागरिकले अहिले ब्रिटेन छोड्नु पर्ने अवस्था नरहेको बताइन्।

उनले इयु सदस्य राष्ट्रहरुले पनि ब्रिटेनका नागरिकलाई त्यस्तै व्यवहार गर्नु पर्ने आफ्नो अपेक्षा रहेको बताइन्। जर्मनीकी चान्सलर एन्गेला मर्कलले मेको प्रस्ताव राम्रो सुरुवात भएको बताइन्। तर अझै पनि समाधान गर्नु पर्ने धेरै प्रश्नहरु बांकी रहेको उनको भनाइ छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)