महानगरका ४० जनप्रतिनिधिलाई मोवाइल किन्न १२ लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाका ४० जनप्रतिनिधिले मोवाइल फोन खरिदको लागि प्रति व्यक्ति ३० हजार रुपैयाँ बुझेका छन् ।

जनताको काम गर्न भनेर आएका जनप्रतिनिधिले जनताकै करबाट उठेको रकमबाट मोवाइल खरिद गर्न लागेका हुन्।

३२ वडाका वडाध्यक्ष र नगर कार्यपालिकाका ८ सदस्यले ३० हजार रुपैयाँको दरले १२ लाख रुपैयाँ बुझेका हुन् । जनताको काम गर्न मोवाइल फोन आवश्यक पर्ने भन्दै मोवाइल फोन खरिदको लागि सम्बन्धित वडा कार्यालयमा बजेट पठाइसकेको महानगरपालिले जनाएको छ ।

मोवाइल खरिद गर्ने निर्णय मंगलबार बसेको नगर कार्यपालिका बैठकले गरेको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए ।

पौडेलले भने–‘४० जनप्रतिनिधिलाई मोवाइल फोन र सिम कार्ड खरिदको लागि बजेट व्यवस्था गरिएको हो, सहज ढंगले जनताको काम गर्नको लागि मोवाइल आवश्यक पर्ने हुँदा यसलाई सामान्य रुपमा लिनुपर्छ ।’यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।