प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा, को कहाँ ?

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी ६ दिन त्यहाँ बस्नेछन् ।

देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहान ९ बजे धनगढी क्याम्पस चोकमा कोणसभा र त्यसपछि फूलबारी डिपोबजारमा चुनावी सभामा सहभागी भएपछि देउवा दिउँसो १२ बजे कञ्चनपुर लाग्नेछन् ।

ओली पश्चिममा भैरहवासम्म पुग्ने
एमाले अध्यक्ष केपी ओलीले गृहजिल्ला झापाबाट बिहीबार फर्किएका छन् । बिहीबार उनले मेचीनगर, भद्रपुर, गौरादह र कमल गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गरे । उनले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डद्वारा एकै दिन सात सभालाई सम्बोधन
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै बाँके, बर्दिया र कैलालीका सातभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेका छन् । प्रचण्डको शुक्रबार दिनभरको कार्यक्रम पनि एकदमै ‘टाइट’ रहेको उनको सचिवालयले जनाएको छ ।

बिहीबार राति प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टको निवासमा बसेका प्रचण्डले शुक्रबार दिनभर आधा दर्जनभन्दा बढी चुनावी सभामा सहभागिता जनाउने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रकाश दाहालले बताए । ‘आधा दर्जनभन्दा बढी चुनावी कार्यक्रम छन्,’

राप्रपा अध्यक्ष कमल थापा पनि देश दौडाहामा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि दोस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा छन् । उनी बुधबारबाट देश दौडाहमा लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार थापा बिहीबार उदयपुरमा आयोजित चुनावी कार्यक्रममा सहभागी भए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।