२ किलो अवैध सुनसहित पक्राउ

काठमाडौं । चीनको केरुङबाट अवैध रूपमा ल्याइएको दुई किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल रसुवाको लहरेपौवा बस्ने कृष्णबहादुर श्रेष्ठ र काठमाडौं पासिकोट गोल्डेन चोक बस्ने रूपेश भनिने दिनेश रोकालाई रसुवागढीबाट पक्राउ गरिएको हो ।

विशेष सुराकीको आधारमा जाँच गर्दा मोटरसाइकलको ट्याङकीमा फल्स बटम बनाई लुकाएको अवस्थामा सुन भेटिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बताए ।

उनले भने–‘बा ७६ प ७८१० नम्बरको पल्सर बाइकमा सुन ल्याइँदै छ भन्ने थाहा पाए सँगै विशेष निगरानी गरिराखेका थियौँ, सुरुमा सुन भेटिएको थिएन् । अन्तिममा मोटरसाइकलको ट्याङकीमा फल्स बटर बनाएको भेटियो । दुईजनालाई सुनसहित पक्राउ गर्न सफल भयौँ ।’

सुनसहित मंगलबार पक्राउ परेका दुवैजनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरूबाट बरामद गरिएको सुनको मूल्य करिब ९३ लाख २ हजार ५ सय रहेको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।