दोस्रो चरणको निर्वाचनः कस्तो छ प्रमुख दलहरूको आँकलन

काठमाडौं । माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ ।

तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नं १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ ।

माओवादी आँकलन
प्रदेश नम्बर १
स्थानीय तह स् १३७, दाबी स् ५०–५५

प्रदेश नम्बर ५
स्थानीय तह स् १०९, दाबी स् ४६

प्रदेश नम्बर ७
स्थानीय तह स् ८८, दाबी स् २५–३०

दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ ।

कांग्रेसको आँकलन
प्रदेश नम्बर १
झापामा बहुमत तहमा जित्ने, मोरङ र सुनसरीमा पहिलो पार्टी बन्ने

प्रदेश नं ५

बुटवल, घोराही, तुल्सीपुर र नेपालगन्ज उपमहानगर जित्ने, नवलपरासीका सुनवल र रामग्राम, रुपन्देहीका तिलोत्तमा र सिद्धार्थनगर, दाङको लमहीसहित बहुमत स्थानीय तहमा जित्ने, कपिलवस्तु, बाँके, बर्दियामा पनि पहिलो शक्ति

प्रदेश नं ७
कांग्रेसको गढ भएकाले स्पष्ट बहुमत आउने

२०० तह जितेर पहिलो बन्ने एमालेको लक्ष्य

पहिलो चरणको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने उसको दाबी छ । प्रदेश नम्बर १ का १३७ तहमध्ये विराटनगर महानगरपालिकासहित दुईतिहाइ तहमा जित्ने एमालेको दाबी छ ।

त्यस्तै, प्रदेश नम्बर ५ का १०९ तहमध्ये ६५ देखि ७० मा र प्रदेश नं। ७ का ८८ तहमध्ये कम्तीमा ६०५ स्थानीय तह जित्ने एमालेको आँकलन छ ।

एमाले आँकलन
प्रदेश नम्बर १
स्थानीय तह १३७, दाबी ९०–९५

प्रदेश नम्बर ५
स्थानीय तह १०९, दाबी ६५–७०

प्रदेश नम्बर ७
स्थानीय तह ८८, दाबी ४८–५५

राप्रपाले दोस्रो चरणको निर्वाचनमा एक उपमहानगरसहित ५ मेयर र २५ गाउँपालिका अध्यक्ष जित्ने दाबी गरेको छ । नेताहरूलाई जिल्ला–जिल्लामा खटाइएकाले दोस्रो चरणको निर्वाचनमा सुधार आउने राप्रपाको विश्वास छ ।

प्रवक्ता रोशन कार्कीले अहिलेसम्म एक उपमहानगरसहित ५ नगरपालिका र २५ गाउँपालिकामा जित्ने रिपोर्ट केन्द्रमा आएको बताइन् ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।