नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ

थप अनुसन्धान हुँदै

काठमाडौं । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित कल्लेरी जालपादेवी गेष्ट हाउसको कोठा नम्बर १०१ बाट मंगलबार पक्राउ गरेको छ ।

केही व्यक्तिहरु नक्कली सुन देखाई ठगी गर्दैछन् भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले त्यस्ता व्यक्तिहरुको निग्रानी राख्दै खोजतलास गर्नेक्रममा उक्त गेष्ट हाउसमा फेला पारी जाँच गर्दा बिस्कुट आकारको नक्कली सुन ९ सय ९४ ग्रामको १ थान र सि माला जस्तै देखिने दाना १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त घटनामा पक्राउ पर्नेहरु काठमाडौं धापासी बस्ने नवलपरासी, गैंडाकोट नगरपालिका–१ का ५२ वर्षीय जितबहादुर गुरुङ, काठमाडौं सामाखुशी बस्ने गोरखा, सुलीकोट गाउँपालिका–१ का ५० वर्षीय खड्गबहादुर गुरुङ, काठमाडौं गोलढुंगा बस्ने गोरखा, जौबारी गाउँपालिका–१ का १७ वर्षीय प्रदीप मगर र काठमाडौं टेकु बस्ने चितवन, कालिका नगरपालिका–१ का ५६ वर्षीय यज्ञनारायण श्रेष्ठ रहेका छन् ।

यस कार्यमा अन्य क कस्को संलग्नता रहेको छ भन्ने बुझिएको छैन । यस्कोबारेमा महानगरीय अपराध महाशाखाको प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।