प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति

काठमाडौ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन ।

परिषद् सदस्य तथा प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

एक परिषद् सदस्यका अनुसार बैठकमा ओलीले पराजुलीलाई प्रधानन्यायाधीश बनाउनै नहुने अडान लिएका थिए । ‘ओलीजीले प्रधानन्यायाधीश नियुक्तिमा हतार नगरौँ, मलाई समय दिनुहोस् भने ।

परिषद् सदस्य एवं सभामुख ओनसरी घर्तीले भनिन्, न्यायाधीशको बायोडाटा सबै हेरिनुपर्छ, सिफारिस हतारले गर्नुहुँदैन भन्ने धारणा उठेपछि बैठक निष्कर्षविहीन हुन पुग्यो ।’ परिषद्को अर्को बैठक १५ असारका लागि बोलाइएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।