दलहरूलाई चुनावी चटारो

काठमाडौं । १४ असारमा हुन गइरहेको स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूलाई चुनावी चटारो बढ्दै गएको छ ।

शीर्ष नेताहरू चुनावी प्रचारप्रसारका लागि राजधानी छाडेर प्रदेश तथा जिल्लामा केन्द्रित भएका छन् । सबै दलका शीर्षस्थ नेताहरूले राजधानी छाडिसकेका छन् । उनीहरू विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारप्रसारमा खटिएका छन् ।

प्रमुख दलहरूले शीर्षस्थ नेतृत्वलाई ठाउँ तोकेर नै निर्वाचन प्रचारप्रसारमा खटाएका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३५ वटा जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि नेताहरूको कार्यविभाजन गर्दै चुनाव प्रचारप्रसारमा खटाएका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाललाई अलराउन्डका रूपमा खटाएको छ ।

माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापालाई अलराउन्डरका रूपमा अघि सारेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।