१५ अगस्टमा दिल्ली जाने प्रधानमन्त्री देउवाको इच्छा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५स्वतन्त्रता दिवसका अवसरमा) भारत भ्रमण गर्ने इच्छा गरेका छन् ।

देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको छ ।

भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।

नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।

‘नेपालबाट अगस्ट १५को मिति उपयुक्त हुन्छ भन्ने अनौपचारिक प्रस्ताब आएको छ, हामी मितिका बारेमा छलफल गरेर आवश्यक निर्णय गर्छौँ, नेपालसँग थप कुराकानी गरेर भ्रमणको समय टुंग्याउँछौँ भारतीय विदेश मन्त्रालय स्रोतले बताएको छ । यो समाचार आजको नयाँ पत्रिमा प्रकाशित छ ।