हास्य कलाकार कोस्बीविरुद्ध यौन दुराचारको अभियोग

अदालत निष्कर्ष विहिन

अमेरिका । एउटा अमेरिकी अदालतका न्यायाधीशले हास्य कलाकार बिल कोस्बीविरुद्धको मुद्दामा कुनै फैसला गर्न नसकेपछि अभियोजनकर्ताहरुले सो मुद्दालाई पुनः अघि बढाइने बताएका छन्।

कोस्बीविरुद्ध १३ वर्षअघि एक महिलालाई नशालु पदार्थ खुवाएर यौन दुराचार गरेको अभियोग लागेको थियो। अदालतलाई सुझाव दिन गठित एक जुरी लामो छलफलपछि पनि कुनै निर्णय गर्न सकेको छैन।

नोरिसटाउन पेन्सिभेनियाको अदालतमा कोस्बीविरुद्धको मुद्दामाथि ५३ घण्टासम्म बहस चले पनि अदालतबाट कुनै निर्णय आउन सकेन।

५० घण्टाभन्दा लामो समय चलेको छलफलपछि पनि जुरीका सदस्यहरु एकमत हुन नसकेपछि न्यायाधीश स्टिभेन ओनेइलले जुरीलाई खारेज गरिदिए।

उनले कोस्बीलाई धरौटीमा छोड्ने र उनी अभियुक्त नै रहने आदेश सुनाएका छन्। ७९ वर्षीय कोस्बीविरुद्ध सन् २००४ मा एक महिला एन्ड्रिया कन्स्टान्डलाई नशालु पदार्थ खुवाएर यौन दुराचार गरेको आरोप लागेको छ।

तर कोस्बीका वकिलले दुवैजनाको सहमतिमा यौन सम्बन्ध भएको बताएका छन्। धेरै महिलाले कोस्बीले आफूमाथि यौन हमला गरेको आरोप लगाएका छन् तर कानूनी सीमा कारण एक महिलाले लगाएको अभियोगमात्रै अदालतमा पुगेको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)