दोश्रो चरणको निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन दर्ता सुरु

असार ६ गते अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं । सरकारले तोकेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी असार १४ गते तीन प्रदेशमा हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

शनिबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको कार्यतालिका अनुरुप आज विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।

दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा तीन वटा प्रदेश (१, ५ र ७) नम्बरका ३५ जिल्लाका ३३४ स्थानमा चुनाव हुने भएको छ । सो स्थानका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदान गर्ने भएका छन । तीन वटै प्रदेशबाट १५ हजार ३८ जनप्रतिनिधि छनोट हुने भएका छन ।

निर्वाचन कार्यतालिकाअनुसार ४ असारमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने ६ असारमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । र, सोही दिन निर्वाचन चिह्न पनि प्रदान गरिनेछ ।

निर्वाचन आयोगले दोश्रो चरणको स्थानीय निर्वाचनका लागि पुरा तयारी भएको शनिबार एक पत्रकार सम्मेलन कार्यक्रम मार्फत जानकारी गराएको छ । आन्दोलनरथ राष्ट्रिय जनता पार्टी नेपालको विरोधका कारण प्रदेश नं दुईको निर्वाचन असोज दुई गतेका लागि सारेको छ ।