सरकारी संयन्त्रमा नेपालभाषाः चर्चा धेरै, काम भने कम

काठमाडौं । काठमाडौंं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा नेपालभाषालाई पनि कामकाजको भाषा बनाउने भनिए पनि व्यावहारिक कार्यान्वयन र प्रयोग उत्साहप्रद देखिएको छैन ।

काठमाडौं र कीर्तिपुर दुवैको पहिलो बोर्ड बैठकले ‘नेपालभाषालाई पनि कामकाजको भाषाका रूपमा प्रयोग गर्ने’ निर्णय गरेको थियो ।

संविधानअनुसार भाषा आयोगलाई सरकारी कामकाजको भाषाको सिफारिस गर्ने जिम्मेवारी दिइए पनि आयोगले सिफारिस गर्नुअघि नै ती दुई पालिकाले निर्णय गरिसकेका छन् ।

निर्णय गरेको केही साता बितिसक्दा पनि काठमाडौं महानगरपालिकाले आफ्नो निर्णय कार्यान्वयनका लागि अझै प्राविधिक तयारी थालेको छैन । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार निर्णयपछि महानगरको ‘साइनबोर्ड’मा नेपालभाषा प्रयोग गर्ने बाहेकका काम नभएको बताए ।

कीर्तिपुरमा भने नेपालभाषाका निवेदनहरू हेर्ने छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नगर प्रमुख रमेश महर्जनका अनुसार यहाँ नेपालभाषाका केही निवेदन पनि परेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।