सरकारद्धारा टीकापुर घटनाका योजनाकार चौधरीलाई क्षतिपूर्ति

त्यस घटनाको अनुसन्धान हुँदै

कैलाली । सरकारले ०७२ भदौ ०७ गते टीकापुरमा घटेको घटना पश्चात आवेगमा आएको भिडले आठ गते गरेको आगजनीबाट पीडित व्यक्तिलाई हिजो(शुक्रबार) राहत वितरण गरेको छ ।

त्यस घटनाका प्रमुख योजनाकारको रुपमा आरोपीत रेशम चौधरीलाई समेत सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। उक्त घटनाका पिडित मध्य चौधरीलाई सबै भन्दा बढी क्षेतीपुर्ति सरकारले दिएको हो ।

सो क्षेतिपुर्तिवापतको रकम शुक्रबार चौधरीका बाबु लालवीर चौधरीले बुझेका छन । यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले १ करोड ५० लाख र प्रदीप चौधरीले क्षतिपूर्तिबापत १ करोड ३९ लाख रकम पाएका छन्।

२०७२ साल भदौ सात गते भएको त्यस घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको थियो ।

त्यस घटनाका कारण भदौ आठ गते आवेगमा आएको भिडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा समेत आगो लगाएको थियो ।

त्यस घटनामा आरोपित चौधरी फरार छन । उनको खोजी कार्य भइरहेको छ । उनले आफु निर्दोष भएको सञ्चारकर्मीहरुसँग बारम्बार भन्दै आएका छन । सरकारले यसको अनुसन्धान गरिरहेको छ ।