नेकपा निकटको क्रान्तिकारीद्धारा आन्दोलनको घोषणा (भिडियोसहित)

हस्तक्षेप भए प्रतिरोध गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सरकारले संयुक्त विद्यार्थी संगठनहरुसँग गरेको सहमती अनुसार निजि विद्यालयहरुले लिने गरेको चर्को शुल्क नरोकिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

क्रान्तिकारीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमबारे बताउँदै अखिल क्रान्तिकारीका सचिव रामबहादुर बिकले शैक्षिक परिवर्तनको लागि आफुहरुले गर्ने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेमा त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका छन ।

पत्रकार सम्मेलन लगत्तै हरपल नेपाल डटकमसँग कुरा गर्दै सचिव बिकले भने–‘पछिल्ला बर्षहरुमा शैक्षिक सत्रको सुरुवातसँगै निजि विद्यालयहरुले मनोमानी शुल्क वृद्धी गर्ने, मन्टेश्वरीको नाममा लुट मच्चाउने, कन्सलटेन्सको नाममा देशको जनशक्ति र पूँजि विदेश पलायन गराउने, विदेशी विश्वविद्यालयको नाममा नेपालका विश्वविद्यालयहरुलाई धरासयी र कमजोर पार्ने, चिकित्सा शिक्षाको नाममा चरम लुट मच्चाउने जस्ता कार्यहरु खुलेयाम गर्ने खालको होडबाजि चलिरहेको छ । हामीले त्यसको विरुद्धमा आन्दोलन घोषणा गरेका छौ ।’

सचिव बिकले वैशाखमा संयुक्त विद्यार्थी संगठनको तर्फबाट गरिएको आन्दोलनलाई वार्ता र सहमतीका नाममा टुङ्ग्याइएको बताउदै अब आफुहरुले निर्णायक आन्दोलन गर्ने दाबी गरे ।

उनले सरकारले यसअघि शुल्कको वृद्धी खारेज गर्ने, अशुल गरिएको चर्को शुल्क सम्बन्धीत अभिभावकलाई १५ दिनभित्र फिर्ता गर्ने, शिक्षा क्षेत्रभित्रका विकृती विसंगतीहरुको नियन्त्रण गर्न अनुगमन समिति बनाउने सहमती गरिएको भएपनि त्यसको कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको तर्क गरे ।

क्रान्तिकारीले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु यस्ता रहेका छनः–

१) असार ४ गते – शुल्क बृद्धी गरेका विद्यालयहरुमा विरोध स्वरुप कालो झण्डा राख्ने ।
२) असार ५ गते – सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने ।
३) असार ८ गते – अत्याधिक शुल्क वृद्धी गर्ने विद्यालयको लेखा र प्रिन्सिपलको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गर्ने ।
४) असार १३ गते– विरोधस्वरुप एकदिने उपत्यकाव्यापी शैक्षिक शड्ताल गर्ने ।
५) असार १४ गते– नयाँ संघर्षका कार्यक्रम सार्वजनिक गर्ने ।

LOADING...