सरकारको चुनाव सार्ने निर्णय प्रति एमालेको आपत्ती

देशलाई संकटमा लैजाने ठहर

काठमाडौं ।आज सिंहदरबारमा सत्तारुढ दल र राजपाबीच बसेको बैठकले गरेको निर्णय प्रति प्रमुख प्रतिपक्ष नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।

सरकारले २ नम्वर प्रदेशको निर्वाचन असोज २ गते सार्ने निर्णय गरेपछि एमालेले एक विज्ञप्ति मार्फत त्यस्तो आपत्ति जनाएको हो ।

सो विज्ञप्तिमा भनिएको छ–‘सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।’

‘जनताले आफ्ना प्रतिनिधि आफै छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ’–सो विज्ञप्तिमा भनिएको छ ।