शिर्ष दल र राजपाबीच बुधबार चार बजे बैठक बस्दै

प्रदेश नं २ र ५ को चुनाव सार्ने विषयमा छलफल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र असन्तुष्टि दल राष्ट्रिय जनता पार्टी नेपालबीच आज दिउँसो चार बजे सिंहदरबारमा बैठक बस्दै छ ।

राजपा नेपालले चुनाव सार्न सरकार तयार भएमा निर्वाचनमा सहभागी हुने बताएको छ । राजपाले चुनावमा सहभागी हुने विषयमा लिखित हस्ताक्षर गरेमा सत्तारुढ दलहरु चुनावको मिति सार्न सकारात्मक देखिएको र त्यसका लागि आज छलफलमा जुटिरहेको बुझिँएको छ ।

हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ गते तोकिएको निर्वाचनमध्ये २ र ५ नम्बर प्रदेशमा भने केहि समय पर सार्न प्रस्ताव गरेका थिए । तर देउवाको उक्त प्रस्ताव माओवादी र एमालेले ठाडै अस्वीकार गरेको थियो ।

कुनै हालतमा असार १४ गते निर्वाचन हुन नदिने भन्दै राजपाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । हिजोदेखि तराई–मधेसका जिल्लामा बन्द शुरु गरेको छ ।

दोस्रो चरणको चुनावका लागि असार २ गते हुने मनोनयनलाई ध्यान दिदै राजपाले जेठ ३० देखि असार २ सम्म तराई–मधेसका जिल्लामा बन्द आव्हान गरेको छ ।