कार्कीको भनाइमाथि आपत्ति

काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले पदीय गरिमाविपरीत भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले आपत्ति जनाएको छ ।

कार्कीले बिबिसी नेपाली सेवाद्वारा आइतबार प्रस्तुत साझा सवालमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई मुद्दाको विषयसँग जोडेर लाञ्छित गरेकी थिइन ।

महान्यायाधिवक्ताको कार्यालयले अपवादजनक र काबु बाहिरको परिस्थितिमा बाहेक सरकारी वकिलबाट मुद्दाको पेसी हटाउने कार्य नभएको र आगामी दिनमा पनि नहुने भन्दै कार्कीको भनाइको प्रतिवाद गरेको हो ।

आफू स्वयंले न्याय सेवा आयोगको अध्यक्षता गरी सरकारी वकिललाई स्थानीय निकाय निर्वाचन अधिकृतमा सिफारिस गरेको अवस्थामा चुनावको बहानामा मुद्दा हटाएको भनेर कार्कीबाट टिप्पणी भएको विषयमा समेत उक्त कार्यालयले विज्ञप्तिमार्फत गम्भीर आपत्ति प्रकट गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।