शेर्पा गाइडको १२ घन्टाको मृत्यु अनुभव

काठमाडौं । सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो।

आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी हिँड्नै सकेनन्। ‘उनी हिँड्न सकेनन्, मैले बोक्न पनि सकिनँ,’ शेर्पाले सम्झिए। त्यसपछि उनीहरू दुवै जनाले ८ हजार ६ सय मिटरको बालकोनीनजिकै रात बिताउनुपर्यो।

‘म सहजै झर्न सक्थें तर ६० वर्षीय आरोही अब्दुललाई छाडेर झर्न चाहन्नथेँ,’ उनले भने पछि उनी अचेत नै भए– मरेतुल्य।’त्यसपछि एजेन्सीको सम्पर्क छुटेका उनीहरूलाई यसै पनि मरेको ठानियो।

अब्दुल हिँड्न नसकेपछि साउथकोलदेखि २२ घन्टा लगाएर भए पनि चुचुरो पुग्न सफल भए उनीहरू। जेठ ७ गते दिउँसो ३ बजे सगरमाथा चुचुरोमा पाइला टेकेका उनीहरू झर्ने क्रममा अब्दुल अस्वस्थ भएपछि ८ हजार ६ सय मिटर बालकोनी पुग्दा साँझको ८ बज्यो।

‘जसोतसो टर्चलाइट बालेर झर्दा भाटी हिँड्नै सकेनन्, म पर्खेर बसिरहेँ, त्यसै समयमा मेरो हात हिउँले पूरै खाइदियो। त्यसपछि रात छिप्पिँदै गएपछि म पनि चिसोले अचेत बनेछु त्यसपछि मैले केही थाहा पाइनँ,’ उनी आफ्नो ‘मृत्यु’ भएको त्यो क्षण सम्झन्छन्।

जाँदै मौसम बिग्रँदै गएको थियो। दाबाले पटकपटक फर्कन अनुरोध गरे पनि तर अब्दुलले आरोहण नगरी नफर्किने जिद्दी गरे तर हिँड्नै सकेनन्। ‘त्यही हाम्रो कमजोरी थियो, दावाले भने। आफूले प्रयोग गर्न लगेको दुई सिलिन्डर अक्सिजनसमेत अब्दुललाई नै प्रयोग गर्न दिएपछि उनी त बाँचे तर दाबा आफैं भने चिसो सहन नसकी अचेत भए। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।