संसद बैठक असार १८ गतेसम्मका लागि स्थगितः संसदहरु गृह जिल्ला जाने क्रम सुरु

राजपाले चुनाव चिन्ह पाउँने

काठमाडौँ । दोश्रो चरणको स्थानीय निर्वाचनका लागि संसदहरु समेत गृह जिल्लामा जाने भएकाले व्यवस्थापिका संसद्को बैठक तीन साताका लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तीले बताएकी छन् ।

सभामुख घर्तीले हरपल नेपालसँगको कुराकानीका क्रममा स्थानीय निर्वाचनपछि बस्नेगरी व्यवस्थापिक संसदको बैठक स्थागित गरिएको बताएकी हुन ।

सभामुख घर्तीले प्रमुख दलहरुका सचेतकहरुसँग परामर्श गरेर संसद बैठक लामो समयसम्म स्थगित गरिएको बताइन ।

राष्ट्रिय जनता पार्टीलाई चुनाव चिन्ह दिने विषयमा सरकारले हिजो संसदमा पेश गरेको विधेयकमाथि छलफल गरेर पारित गरेसँगै व्यवस्थापिका संसदले असार १८ गतेसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।

सभामुख घर्तीले शुक्रबारको बैठकमा स्थानीय तह शासन सञ्चालन विधेयकको दफावार प्रक्रिया सुरुगरेर संसद बैठक स्थगित गर्ने तयारी गरिएको भएपनि अन्य विषयमाथि छलफल गर्नुपर्ने भएकाले आइतबार आवश्यक छलफल सहित संसद स्थगित गरिएको जनाएकी हुन् ।

सरकारले सदनमा पेश गरेको तीन वटा पस््रतावहरु मध्ये राजपालाई निर्वाचनमा सहभागि गराउन चुनावचिन्ह दिनेबारे प्रस्ताव हिजो नै पारित भएको छ । त्यसैगरी बजेटसम्बन्धी विधेयक पनि संसद्मा पेस हुने चरणमा छ । यस्तै, संसद्मा स्थानीय तह शासन सञ्चालन लगायतका महत्वपूर्ण विधेयक पनि विचाराधीन अवस्थामा रहेका छन् ।

दोश्रो चरणको निर्वाचन असार १४ गतेको लागि तोकिएको छ । निर्वाचन आयोगले असार २ गतेदेखि मनोनयन कार्य सुरु हुने जनाएको छ । यतिबेला दल र नेताहरु स्थानीय निर्वाचनको लागि उम्मेदवार छनोट र चुनावि प्रचार प्रसारको काममा बेस्त रहेका छन् ।