प्रमुख आयुक्तविरुद्ध नाराबाजी: निर्वाचन आयोगद्वारा खेद व्यक्त

काठमाडौं । निर्वाचन तयारीको अनुगमनको क्रममा सप्तरीको राजविराज पुगेका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाउने कार्य भएकामा निर्वाचन आयेगले खेद व्यक्त गरेको छ ।

सप्तरीको राजविराजमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका वेला प्रमुख निर्वाचन आयुक्तविरुद्ध नारावाजी भएको थियो ।

आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले तराई–मधेसका जिल्लामा स्थानीय तहकोनिर्वाचनप्रति जनताको व्यापक उत्साह र निर्वाचनको सकारात्मक वातावरण बन्दै गएका वेला यस प्रकारका गतिविधि हुनु निन्दनीय भएको बताएका छन् ।

लोकतान्त्रिक अभ्यासको माध्यमबाट आफ्ना जनप्रतिनिधि निर्वाचन गर्ने तथा जनप्रतिनिधिको रूपमा निर्वाचित हुने जनताको अधिकारलाई कुण्ठित पार्न खोज्नु अमर्यादित व्यवहार भएको आयोगले स्पष्ट पारेको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।