उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा

सर्लाही । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम बिथोल्ने प्रयासस्वरुप राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन्।

सर्लाही, विष्णुपुर–५ मधुवन गोठ बजारमा फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिथोल्न खोजेका हुन्।

राजपाको शक्ति केन्द्र मानिएको सर्लाहीको मधुवन गोठ गाउँपालिकामा यादवले कार्यक्रम गर्न लागेको थाहा पाएपछि राजपा कार्यकर्ता विरोधमा उत्रिएका हुन्। सर्लाही राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर एवं अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला हो।

कार्यक्रम चलिरहँदा मञ्चदेखि करिब २ सय मिटर पश्चिममा राजपाका स्थानीय नेता तथा कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजी गरेका थिए।

करिव दुई सयको हाराहारीमा रहेका राजपा कार्यकर्ताले कार्यक्रमस्थल गइरहेका बेला उपेन्द्र यादवलाई कालो झण्डा देखाउने प्रयास गरेका थिए।अवस्था तनावपूर्ण बन्दै गएपछि व्यापक रुपमा प्रहरी परिचालन गर्नु परेको इलाका प्रहरी कार्यालय बरहतवरका प्रहरी निरीक्षक ललन कुर्लीले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।