सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

ललितपुर । ‘विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन । जे छ, त्यो देखाइदिई हाल्छ । कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ । सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ।’

यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो । ‘अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै भरमा डीएनए गराउनुपर्छ भन्ने छैन । परीक्षणको नजिता र त्यसको असर अर्कै हुनसक्छ’ उनले भने ।

कार्यकारी निर्देशक रिजाल नेपाली सामाजिक संरचना फरक खालको भएको बताए । उनी मिलेर बसेको समाज र परिवारमा विशेष परिस्थितिबाहेक डीएनएको पछि लाग्न नहुने जिकिर गर्छन ।

‘कहिलेकाहीँ त बच्चा लिएर बाबु वा आमा आउँछन् र लौ यो बच्चाको डीएनए गर्नुपर्यो, यो मेरो छोरा वा छोरी हो÷होइन भन्छन् । त्यो बच्चा उनीहरूको सन्तान ठहरिएन भने के हुन्छ’ रिजाल भन्छन ।

‘जसरी समाजमा धर्मपुत्र वा पुत्रीका रूपमा अर्काको सन्तान राख्ने चलन छ । अभिभावकको मृत्युपछि तिनले डीएनए गराए भने के होला ।’

विधि विज्ञान प्रयोगशालामा यस्तो एक जोडी चार जना बच्चा लिएर आए । रिजालका अनुसार ती बच्चाको डीएनए परीक्षण गरी हेर्दा चार जनामध्ये दुई जना बच्चा दुवै जनाको ठहर भयो भने अन्य एक जना बाबु फरक र एक जना बाबुआमा दुवै फरक देखियो र त्यसले आश्चर्य बनायो ।

कार्यकारी निर्देशक रिजालले जोडीलाई सोध्य, किन यस्तो भयो । के यो कुरा ती आमाबुवालाई थाहा थियो । त्यो जोडीले यो कुरा आफूहरूलाई थाहा भएको, डीएनए परीक्षण सही भएको र परीक्षणबाट आएको नतिजाप्रति सन्तुष्ट भएको बतायो ।यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।