चुनाव सार्नै पर्छः राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि निर्वाचनको सम्भावनाबारे अड्कलबाजी हुन थालेको छ ।

आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र शीर्ष राजपा नेताहरूबीच चुनाव सार्ने सहमति नभएमा राजपाले चुनाव बहिष्कार गर्दै बन्दलगायत आन्दोलनका घोषणा गर्ने बताएको छ ।

शनिबार राजपा र सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा चुनाव सार्ने राजपाको मागलाई सत्ता पक्षले ठाडै अस्वीकार गरेपछि बैठक आइतबारका लागि सारिएको थियो ।

राजपाको अडानप्रति प्रतिपक्षी एमालेले कडा आपत्ति जनाउँदै चुनाव कुनै पनि हालतमा सर्न नहुने बताएको छ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरण निर्वाचन कुनै हालतमा सर्न नसक्ने बताएका छन ।

सत्ता गठबन्धनको दुई नेतृत्व देउवा र पूर्वप्रधानमन्त्री दाहालको सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको राजपालाई चुनावमा लिएर जाँदा निर्वाचन सार्नुपर्ने, छाड्दा समीकरणबीचको द्वन्द्वले मुलुकमै गम्भीर संकटमा पर्न सक्ने त्रास जन्मने देखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।