सर्वोच्चलाई पशुपति क्षेत्र विकास कोषको जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ ।

कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो ।

पशुपतिमा बाँदरको आतंकबाट दर्शनार्थी पीडित भएको, एड्स, क्यान्सर रोग लागेका बाँदरबाट त्रसित हुनुपर्ने अवस्था आएको भन्दै गत वर्षको चैतमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

सो रिट खारेजीको मागसहित कोषले सर्वोच्चलाई लिखित जवाफ पठाएको हो । सर्वोच्चले बाँदरको टोकाइ र आतंक रोक्न तथा भयमुक्त वातावरण बनाउन पशुपति क्षेत्र विकास कोष र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

बाँदरको टोकाइले संक्रमण भएको भन्ने कुनै सूचना फेला परेन
कोषले पशुपति क्षेत्रमा रोगी बाँदरको टोकाइले पर्यटकमा संक्रमण भएको भन्ने कुनै सूचना कार्यालयमा प्राप्तसमेत नभएको स्पष्ट पारेको छ । कुनै पनि नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक घुम्न पाउने वातावरणमा पशुपतिको बाँदरले अवरोध नपु¥याएको सर्वोच्चलाई पठाइएको पत्रमा उल्लेख छ । पशुपति क्षेत्रमा एचआइभी एड्स, क्यान्सर र रेबिज रोगका संक्रमित बाँदरहरू भएको र मन्दिरमा आउने भक्तजनको सुरक्षामा रोगी बाँदरबाट सम्भावित खतरा भएको भन्ने विषय कपोकल्पित रहेको कोषले दाबी गरेको छ ।

‘कुनै ठोस आधार र प्रमाण भेटिँदैन’
‘एड्स, क्यान्सरजस्तो संक्रमित रोगी बाँदरबाट डर र त्रास छ भनिए पनि कुनै ठोस आधार र प्रमाण भेटिँदैन,’ कोषका सदस्य सत्यनारायण जोशीले लिखित जवाफमार्फत भनेका गरेका छन् । पशुपतिमा ढुक्क भएर तीर्थालु र पर्यटक आउने वातावरण रहेको कोषको जिकिर छ । दुई सय वर्षभन्दा अघिदेखिको परम्परागत विशिष्टतालाई कायम राख्दै आएका पशुपतिका बाँदर, साँढे, गाई र परेवासमेतलाई चना, दाल,गहुँ, रोटी, फलफूल आदि दिने चलनको समर्थन गर्दै यिनको व्यवस्थापन, स्वास्थ्य र संरक्षणमा कोष गम्भीर रहेको जवाफमा उल्लेख छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।