देउवा सरकारका सात प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान कार्यान्वयनसहित आफूले गर्नुपर्ने कामको प्राथमिकताक्रम निर्धारण गरेको छ ।

राष्ट्रपतिसँग शपथलगत्तै बुधबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधान कार्यान्वयन सम्बद्ध विषयवस्तुलाई तीव्र गतिमा अघि बढाउने कामलाई पहिलो प्राथमिकतामा राखेको हो ।

कांग्रेस–एमाओवादी केन्द्रसहितको गठनबन्धलाई निरन्तरता दिई बनेको नयाँ मन्त्रिपरिषदले स्थानीय तहको दोस्रो चरणको चुनाव तोकिएको असार १४ गते नै सम्पन्न गर्न आवश्यक तयारी गर्ने पहिलो प्रतिबद्धता जाहेर गरेको छ ।

त्यस्तै, प्रदेश र संघीय संसदको चुनाव आउदो माघ ७ गतेभित्रै सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । यी चुनाव नभई संविधानको पूर्ण कार्यान्वयन सम्भव नभएकाले हामीले पहिलो बैठकमै यसलाई प्राथमिकता दिएका हौं ।

तेस्रो प्राथमिकतामा पनि सरकारले संविधान कार्यान्वयन सम्बद्ध विषय नै राखेको छ । शान्ति प्रक्रियाका बाँकी कामलाई नअल्झाई अघि बढाउने प्रतिवद्धता त्यसमा छ ।

त्यस्तै भूकम्पछिको पुननिर्माणको कामलाई गति दिने, जनताका दैनिक जीवनसम्बद्ध विषयमा प्रभावकारी सेवा दिने, मुलुकको आर्थिक सम्वृद्धिमा केन्द्रित हुने र शान्ति सुव्यवस्था कायम राख्ने कामलाई देउवा सरकारले प्राथमिकतामा राखेको हो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।