आज दिउँसो राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीको सपथ

सात सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी

काठमाडौं । हिजो प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा स्रोतका अनु्सार आज एक पैतालिस बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम तय गरिएको छ । शपथ लिए लगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रधानमन्त्रीको पद बहाली गरेसँगै देउवाले सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी समेत गरेका छन । देउवा स्रोतका अनुसार पहिलो चरणमा काँग्रेसका तीन, माओवादीका तीन र फोरम लोकतान्त्रिकबाट एक जना सरकारमा सहभागी हुने छन ।

आज गठन गरिने मन्त्रीमण्डलमा काँग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्ला मन्सुरले शपथ लिने बताइएको छ । त्यसैगरी फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारले शपथ लिनेछन् ।

माओवादीबाट मन्त्रीमण्डलमा जाने नेताहरुको अझै टुङ्गो लागि नसकेको बताइएको छ । माओवादीले अहिले (विहान) बस्ने पार्टीको बैठकबाट सरकारमा सहभागि हुने नेताहरुको टुङ्गो लगाउने भएको छ । देउवा निकट स्रोतका अनुसार क्रमश अन्य पार्टीहरुसँग छलफल गर्दै मन्त्रीपरिषद्को विस्तार गर्ने तयारी गरेको छ ।