काबुलमा ट्रक बम विस्फोट हुँदा १५० को मृत्यु

३०० भन्दा बढि भाइते

अफगानिस्तान । काबुलमा विभिन्न देशका राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगानका राष्ट्रपति असरफ घानीले बताए ।

अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तरराष्ट्रिय शान्ति सम्मेलनमा घानी उक्त जानकारी दिएका छन । गत हप्ता भएको यो आक्रमण सन् २००१ पछि भएको पहिलो पटकको एकदमै ठूलो भीषण आक्रमण भएको छ ।

यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताए ।

घाइते हुनेहरुमा जलेका र अङ्गविच्छेद भएकाहरुसमेत उनले सो सम्मेलनमा बताएका छन । यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो ।

अहिले सम्ममा यस भीषण आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टि लक्षित बम विस्फोट गराई कम्तीमा सात जनाको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारणसमेत घाइते भएका थिए । रासस÷एएफपी