आज संसदमा प्रधानमन्त्री निर्वाचनदेखि महाअभियोग प्रस्ताव फिर्तासम्म 

प्रधानमन्त्रीमा देउवाको पक्षमा बहुमत पुग्ने सम्भावना

काठमाडौं । आजको संसद बैठकको कार्यसूचि सार्वजनिक गर्दै व्यवस्थापिका संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनदेखि प्रधानन्यायाधिश सुशीला कार्कीमाथि दायर गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिनेसम्मको आफ्नो कार्यसूचि सार्वजनिक गरेको छ ।

संसद सचिवालयको कार्यसूचिअनुसार पहिलो चरणमा पार्टीका शिर्ष नेताहरुले सदनमा संसदलाई सम्बोधन गर्ने कार्यकम तय गरिएको छ । त्यस लगत्तै सत्तापक्ष र प्रतिपक्ष एमालेको पूर्व सहमति अनुसार प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाएको महाअभियोगको प्रस्ताव फिर्ता लिएको घोषणा गर्नुे कार्यक्रम रहेको छ ।

नेकपा एमालेका नेताहरुका अनुसार प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग फिर्ता नलिएमा एमाले पुर्न संसद अवरोध गर्न बाध्य हुनेछ । उनीहरुले आफुहश्रसँग भएका सहमती अनुसार संसद चल्नुपर्ने बताएका छन ।

त्यसैगरी आजै प्रधानमन्त्री पदका लागि समेत निर्वाचन गर्ने कार्यक्रम समेत तय गरिएको छ । प्रधानमन्त्री पदका लागि कांग्रेसका सभापति देउवा एक्ला उम्मेदवार रहेका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा २९८ को उपधारा तीन एवं व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम चार बमोजिम प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि उम्मेदवारी सूचनाका प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका रामचन्द्र पौडेलसहित ५ जनाले समर्थन जनाउने छन । समर्थन जनाएपछि सभामुख ओनसरी घर्तीले सदनमा आजै प्रधानमन्त्री निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत प्रस्तुत गर्नेछिन्।

नेपाली कांग्रेसकी सचेतक इश्वरी न्यौपानेले प्रधानमन्त्री पदका लागि एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा स्पष्ट बहुमत रहेको हरपल नेपालसँग कुराकानी गदै बताएकी छन ।

प्रधानमन्त्रीको निर्वाचनपछि मुलुकले ४० औं प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाउने करिब करिब निश्चित जस्तै देखिएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने सम्भावना छ ।

देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् ।