उपत्यकामा १६ हजार पैदलयात्रुलाई कारबाही

१८ लाख ४८ हजार राजस्व संकलन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा आकाशेपुल र जेब्राक्रसिङको प्रयोग नगर्ने नौ हजार दुई सय ४१ जनाबाट एक हप्ताको समय अबधिमा करिब १८ लाख ४८ हजार दुई सय जरिवाना लिएको छ ।

नियम लागू भएको सात दिनको अवधिमा १६ हजार नौ सय ८६ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदल यात्रुको संख्या अन्य जिल्लाहरुको तुलनामा अत्याधिक बढी मात्रामा रहेको तथ्याङक छ । काठमाडौं उपत्यकामा १३ हजार चार सय ५३ जना कारबाहीमा परेका थिए । त्यसै गरी ललितपुर जिल्लाबाट २३ सय ३३ र भक्तपुरमा १२ सयजना मात्र एक हप्ताको समय अबधिमा कारबाहीमा परेका छन् ।

यसरी सशक्त रुपमा नियम कार्यान्वयन हुँदा पैदलयात्रु र सवारी चालकको जीवन सुरक्षित भइरहेको र सर्बसाधारणमा सचेतना बढ्दै गएको ट्राफिक प्रहरीले बताएको छ ।

पहिले उपत्यकामा पैदलयात्रुले जथाभावी बाटो काट्दा र नियम उल्लंघन गर्दा सडक दुर्घटना दिनहुँ बढी रहने भएकाले यस्तो नियम लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।