पराजुली विरुद्ध रिट दायर गर्ने गिरी बेपत्ता

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्र्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर भएका छन ।

गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो तर सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानुन व्यवसायी आश्चर्यमा परेका छन् ।

पराजुलीविरुद्ध नौ पृष्ठ लामो रिट हाल्न सक्रिय गिरी एकाएक सम्पर्कविहीन हुँदा रिटको पक्षमा बहस गर्ने तयारीमा रहेका कतिपय लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत जिल्लिएका छन् ।

गिरीको रिटमा सुनुवाइका लागि गत बिहीबार न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो । त्यसदिन न्यायाधीश चालिसे आईजीपी विवादमा गठित बृहत् इजलासमा समेत रहनुपरेका कारण सुनुवाइका लागि पालो आएन ।

त्यसदिनदेखि गिरी मुद्दाको तारिख गुजार्दै सम्पर्कमा नआएको सर्वोच्च प्रशासनले जनाएको छ । गिरी आइतबार पनि सम्पर्कमा आएनन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।