पूर्वराजा वीरेन्द्रको जग्गाको मासिक भाडा एक रुपियाँ

काठमाडौं । पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन ।भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०५६ सालमा काठमाडौँको गोकर्णस्थित पूर्वराजा वीेरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर्षका लागि भाडामा लिएको थियो ।

त्यसमध्ये स्कुलले १२ रोपनी मात्र जग्गा उपभोग गर्दै आएको छ । सो जग्गाको भाडाबापत मासिक एक रुपियाँ बुझाउनुपर्ने सम्झौता तत्कालीन राजदरबारसँग गरिएको थियो । राजसंस्था रहुन्जेल सो रकम दरबारको ढुकुटी विभागमा बुझाइन्थ्यो ।

दरबारसँग जग्गा भाडामा दिने सम्झौता गर्दा सहभागी भएका तत्कालीन राजप्रासाद सेवाका कर्मचारी तथा हाल नेपाल ट्रस्टको कार्यालयका सहसचिव लेखबहादुर कार्कीले सो जग्गाबारे सोधखोज गरेपछि नेपाल सरकारका नाममा सो जग्गा थपिन पुगेको छ ।

स्कुलका प्रिन्सिपल निराजन सेढाईंले मुलुकमा गणतन्त्र स्थापनापछि भाडा बापतको रकम बुझाउन प्रधानमन्त्रीको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीहरूले यसबारे आफूहरूलाई थाहा नभएको बताएपछि रकम बुझाउन नसकिएको बताउए । त्यसबेला नेपाल ट्रस्टको कार्यालय स्थापना भइसकेको थिएन । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।