कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

भैरहवा । एक सेकेन्ड पनि पतिसँगै देखभेट उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् ।

रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो।

वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए ।

पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट उठबस गर्न नपाई जीवनभरका लागि गुमाएँ । अब एक्लो जीवन कसरी बिताउनेु, उनले भनिन् ।

अभिभावकले सानैमा विवाह गरिदिएको उक्त जोडीको गौनासम्म भएको थिएन । अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ ।

बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन् । छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने तिलक प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन् ।

केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ । मधेस तराईमा नन्दकुमार र नन्दनीकै जसरी बाल्यकालमै विवाह गरिदिने चलन अहिले पनि छ । यो समाचार आजको अन्नपूर्णमा पोष्टमा प्रकाशित छ ।