एमालेको अवरोधले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भए पनि भरतपुर महानगरपालिकाको एउटा वडामा पुनस्मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् प्रक्रिया अवरोध गर्ने भएपछि प्रधानमन्त्री चयन प्रक्रिया अनिश्चित बनेको छ ।

दुई सातादेखि विभिन्न बहानामा लगातार संसद् अवरोध गर्दै आएको एमालेले शनिबारको स्थायी कमिटी बैठकमार्फत आइतबार पनि अवरोधलाई निरन्तरता दिने निर्णय गरेपछि प्रधानमन्त्री चुनाव प्रक्रियामा अनिश्चितता थपिएको हो ।

एमालेको निर्णयपछि संसद् स्थगन गरी निर्वाचन सार्ने, अवरोधकै बीच निर्वाचन प्रक्रियालाई अघि बढाउने वा प्रमुख प्रतिपक्षीलाई मार्सल लगाएर सदनबाट निष्कासन गर्ने तीन विकल्प सभामुखसँग छ ।

शनिबार कांग्रेस सभापति देउवाको नाम माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तावित गरे भने कांग्रेस नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसहित पाँच पार्टीले समर्थन जनाएका थिए।यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।