सुडानमा झाडापखालाका कारण २६५ जनाको मृत्यु

पानीका स्रोतहरु सफा राख्नु पर्नेमा जोड

खार्तुम । सुडानका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको शुक्रबार बताएका छन ।

देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएको उनले बताए ।

उनले दूषित पानीबाट हुने झाडापखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षात्को बेला झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्ने बताए ।

मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५१२ जना बिरामी भएको तथ्याङ्क पाइएको छ ।

त्यसैगरी ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ । त्यहाँ चार हजार ४७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा परेको सिनार राज्यमा दुई हजार ४०१ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८७८ जना प्रभावित भएका छन् ।

रेड सि प्रदेशमा एक हजार १३७ जना प्रभावित भएको र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९८२ जना प्रभावित भएका छन् ।

मन्त्रीले पानीका स्रोतहरुको अवलोकन गरी सफा बनाउने तर्फ लाग्नु पर्नेमा पनि जोड दिएका छन । रासस