रोल्पामा गायिका राधिका हमालको उम्मेदवारी

जनताको हक अधिकारको लागि लड्ने प्रतिबद्धता

रोल्पा । लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ ।

अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो ।

पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कमल बुढा र उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ । हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन् । उनले जनताको हक हितका लागि आफुले उम्मेदवारी दिएको बताएकी छन ।

रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन्।

जिल्लामा नेकपा एमालेले यसअघि नै सम्पूर्ण स्थानको उम्मेदवारी घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले सुवर्णावती गाउँपालिकामा आकाङ्क्षी धेरै देखिएपछि उम्मेदवारी टुङ्ग्याउन सकेको थिएन । सो पार्टीले समेत मतदान गरी उम्मेदवार टुङ्गो लगाइसकेको बताइएको छ । रासस