सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन

नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ ।

विसं १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना) ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि विहिबार दश फिट लामो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको हो ।

सूर्यगढी पर्यटन विकास समितिको आयोजनामा सूर्यगढी गाउँपालिका–३ मा अवस्थित सूर्यगढीमा झन्डोत्तोलन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले नेपालीको योगदान र प्राप्त सफलतालाई जीवन्त राख्न सूर्यगढी लगायतका युद्धस्थलको संरक्षण आवश्यक रहेको बताए ।

“नेपाली वीर गोर्खाली हौँ भन्ने बलियो प्रमाण नै हाम्रो अमूल्य सम्पत्ति हो”, स्थानीय विकास अधिकारी पण्डितले भने–‘गढीको संरक्षणले सन्ततिमा आत्मविश्वासको वृद्धि र विदेशीसामु शिर उँचो बनाउने आधार मिल्नेछ ।’

नुवाकोट र रसुवाको आधा भूमिको सहजरुपमा अवलोकन गर्न सकिने पहाडी चट्टानको बीचमा पर्ने सूर्यगढीमा तत्कालीन समयमा बहादुर शाह र दामोदर पाण्डेको नेतृत्वमा भएको युद्धले तिब्बती सेनालाई पराजित गर्न सफल भएसँगै वेत्रावती सन्धि भएको थियो ।

वेत्रावती सन्धिले नेपाली पक्षको जित र नेपालले दाबी गरेअनुसार रसुवागढीसम्मको भूमि उपभोग गर्न पाएको इतिहास छ । रासस