असार १ गतेदेखि कक्षा ११ को परीक्षा सुरु हुने

चार लाख ४९ हजार विद्यार्थी सहभागी हुदैँ

काठमाडौँ । कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचनका कारण तेस्रोपटक परीक्षा सारिएको हो । परीक्षा आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले सुरुमा गत वैशाख २३ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेकोमा स्थानीय तहको निर्वाचनका कारण असार १ गते सारिएको थियो । दोस्रो चरणको निर्वाचनका कारण पुनः असार ८ गतेका लागि तोकिएको थियो ।

सरकारले बुधबार निर्वाचनको मिति असार १४ गतेलाई सारेपछि बोर्डले परीक्षाको नयाँ मिति तोकेको हो । बोर्डका सदस्यसचिव डा. डिल्लीराम रिमालले दोस्रो चरणको निर्वाचन सम्पन्न हुनुअगावै परीक्षा सक्नका लागि परीक्षा सारिएको बताए । परीक्षा समन्वय समितिको बैठकले परीक्षा सार्ने निर्णय गरेको थियो ।

उनले निर्वाचनका लागि विद्यालय परिसर प्रयोग हुने भएकाले शनिबारका दिन पनि परीक्षा सञ्चालन गर्ने गरी नयाँ तालिका तयार गरिएको जानकारी दिए ।

उनले असार ९ गते मुस्लिम समुदायको चाड रमजान पर्ने भएकाले त्यस दिन परीक्षा नहुने बताए । परीक्षामा चार लाख ४९ हजार विद्यार्थी सहभागी हुनेछन् ।