बहसमा नआउने वकिलमाथि कारबाही

काठमाडौं । कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ ।

वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव नियमावलीमा छ । मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ ।

मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समयसमेत माग्ने भएको छ । सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै बहसमा उपस्थित नहुने कानुन व्यवसायीलाई रजिस्ट्रारले जाँचबुझ गरी कारबाही प्रस्ताव गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।

उमेरहदका कारण अवकाश पाउनुभन्दा एक साताअघि प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनमा यस्तो कानुनको मस्यौदा भएको हो । नियमावली मस्यौदाको नियम १४० मा कुनै कानुन व्यवसायीउपर उजुरी परे कारबाहीका लागि कानुन व्यवसायी परिषद्मा लेखी पठाउने व्यवस्था छ ।

कुनै कानुन व्यवसायीले वकालतनामा दिएर पनि मुद्दा सुनुवाइ हुँदा इजलासमा अनुपस्थित भएको वा पक्षको हितविपरीत कुनै काम गरेको उजुरी कसैले दिए रजिस्ट्रारले सो उजुरीउपर आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा आवश्यक कारबाहीका लागि नेपाल कानुन व्यवसायी परिषद्समक्ष पठाइदिनुपर्ने मस्यौदामा लेखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।