हेलिकप्टर दुर्घटना भएको गलत सूचना दिने काठमाडौं विश्वविद्यालयका कर्मचारी पक्राउ

काठमाडौं । काभ्रेमा हेलिकप्टर दुर्घटना भयो भनेर प्रहरीलाई फोन गरी गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार दिउँसो १ः०० बजे धुलिखेल नगरपालिकामा पर्ने खड्बु नजिकैको जंगलमा हेलिकप्टर दुर्घटना भयो भन्दै प्रहरीको कन्ट्रोल रुपमा फोन गरी गतल सूचना दिने काठमाडौं विश्वविद्यालयका कर्मचारी स्वदेश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले पक्राउ गरेको हो ।

श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानपछि छोडेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक नबिनकुमार राईले श्रेष्ठले गलत सूचना दिएकाले पक्राउ गरेको स्वीकारे ।

पक्राउपछि उनलाई करिब तीन घण्टा नियन्त्रणमा लिई अब आइन्दा यस्तो गलत सूचना नदिने भन्दै माफी मागेपछि छाडेको प्रहरी नायव उपरीक्षक राईले बताए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।