एक हप्तामा मत गणना सक्न आयोगको निर्देशन

भरपुर घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा

काठमाडौं । निर्वाचन आयोगले बुधबार सम्पन्न भएको स्थानीय चुनावको मत गणना एक हप्ता भित्र सम्पन्न गर्नु पर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा घटेको उक्त घटनालाई पुनः दोहोरिन नदिन त्यस्तो निर्देशन दिएको हो । भरतपुर घटनाले आयोग सचेत भई दोश्रो चरणमा विशेष सुरक्षा व्यवस्था गरिएको बताएको छ ।

पहिलो चरणमा मत गणना गर्न ढिलाई भएता पनि दोश्रो चरणमा सात दिन भित्र मत गणना गरि सक्ने व्यवस्था मिलाएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने–‘निर्वाचन अधिकृतहरुलाई सकेसम्म धेरै टोलीहरु बनाएर गणना शुरु गर्न भनेका छौं। सात दिनभित्र महानगरपालिकाको र तीन दिनभित्र गाउँपालिकाको परिणाम आउनु पर्छ भन्ने किसिमले निर्देशन दिइएको छ।’

प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै समग्रमा सबै स्थानमा मतगणना सुरु भएको छ । कतिपय स्थानका वडाहरुमा उम्मेदवार विजेता भइसकेका छन ।