अब एउटा प्रदेशमा मात्र निर्वाचन बाँकी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

आयोगको प्रारम्भिक विवरणअनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार ७०।५ प्रतिशत मतदान भएको छ ।

आयोगले यो आँकडा अझ बढ्न सक्ने बताएको छ । आयोगले दिएको जानकारीअनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६६ प्रतिशत मतदान भएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ७६ प्रतिशत मत खसेको थियो । त्यतिवेला २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । बुधबार एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ ।

३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हँुदै छन् । पहिलो चरणका २८३ स्थानीय तहबाट १५ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचित भएका थिए । तेस्रो चरणको निर्वाचन १२७ स्थानीय तहमा २ असोजमा हुँदैछ । प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन हुन बाँकी छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले ३५ जिल्लाका ३३४ स्थानीय तहका ८३६३ मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको जानकारी दिए ।

बझाङको एउटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । स्थगित केन्द्रको मतदान स्थानीय निर्वाचन अधिकृतले स्थानीय दलहरूसँग समन्वय गरी निर्वाचन मिति र समय निर्धारण गर्ने बताए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।