दोस्रो चरणका ‘हाई प्रोफाइल’ मतदाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रमा मतदान गरेका छन् । चुनावका लागि प्रधानमन्त्री छ दिनअघि नै गृहजिल्ला पुगेका थिए । प्रधानमन्त्री पत्नी आरजु राणाले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

सभामुख ओनसरी घर्तीले रोल्पाको लिवाङ नगरपालिका–७ मा रहेको बालउदय मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनका पछि माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि सोही मतदान केन्द्रमा मत खसालेका छन् ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका–१, दामरुकको तारा माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् । अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहबी नगरपालिका–२ स्थित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी–८ स्थित त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरे ।

एमालेकै अर्का उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका–६, स्थित चन्द्रोदय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले इलाम नगरपालिका–७ सुन्तलाबारीस्थित बालमन्दिर आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गरे । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१०, कलवलगुडी केन्द्रबाट, कांग्रेस नेता शेखर कोइराला, सुजाता कोइरालाले विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श स्कुल केन्द्रबाट मतदान गरे ।
महानगरका मतदातामा पूर्वमन्त्रीहरू महेश आचार्य, मीनेन्द्र रिजाल, लालबाबु पण्डित लगायतका नेताहरू छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।