राजपाका नेताहरुलाई निर्वाचनमा जान भारतीय राजदूतको आग्रह

काठमाडौं । भारतीय राजदूतले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई सुझाब दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरूलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाब दिएका हुन् ।

राजपाका अध्यक्षमण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर राजदूत पुरीसँग भेट गर्न दूतावास पुगेका थिए ।
दुई घन्टाको लामो छलफलमा राजदूत पुरीले घुमाउरो भाषामा निर्वाचनमा सहभागी हुँदा सहज हुने सुझाब दिएका थिए । छलफलमा सहभागी एक नेताका अनुसार पुरीले सरकारले निर्वाचन १४ असार मा गर्ने तयारी गरिरहेकाले सहमतीमा जाँदा सहज हुने बताएका छन । यो समाचार आजको  नयाँ पत्रिकामा प्रकाशित छ ।