झापामा माओवादीको केन्द्रको उम्मेदवारी घोषणा धमाधम

नमुना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धता

बिर्तामोड । नेकपा माओवादी केन्द्रले झापाका स्थानीय तहमा उम्मेदवारीको घोषणा धमाधम गरिरहेको छ । पार्टीले आसार ९ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावलाई लक्षित गरेर औपचारिक कार्यक्रममार्फत उम्मेदवार चिनाउन थालेको छ ।

यसैक्रममा पार्टीले झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षसहित सबै वडामा उम्मेदवार तय गरी घोषणा गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिमिल्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूसहितको उम्मेदवारलाई समेत सार्वजनिक गरिएको हो ।

यस्तै गरी पार्टीले वडा नं १ को वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, वडा नं २ मा दिवामाया अधिकारी, ३ मा डिल्लीराम श्रेष्ठ, ४ मा नारायण ढुङ्गाना, ५ मा विक्रम सालिङ, ६ मा प्रदीप खतिवडा र ७ मा मात्रिका पौडेललाई उम्मेदवार बनाइएको छ ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षतामा निर्वाचन प्रचारप्रसार समितिका संयोजक बोधराज दाहालले गरेका थिए । उम्मेदवारी घोषणासँगै पार्टीले बुद्धशान्तिलाई देशकै नमुना गाउँको रुपमा बनाउने ३२ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । रासस