धादिङको भकारेमा बस दुर्घटनाः तीनको मृत्यु, ३० बढि घाइते

केही यात्रुहरु अझै भेटिएननः उद्धार कार्य जारी

काठमाडौं । धादिङबेसिबाट सल्यानटार जादै गरेको बसले अचानक नियन्त्रण गुमाएपछि  बस दुर्घटनाहुँदा तीन जनाको ज्यान गएको छ भने, तीस भन्दा बढि घाइतेहरुको उद्धार गरिएको छ ।

उक्त दुर्घटनाबाट बसमा यात्रा गरिरहेका अधिकाशं यात्रुहरु घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार स्थानीय बोर्डिङ स्कुलको ग १ ख ३८०५ नम्बरको स्कुलबस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङको भकारे भन्ने स्थानमा दुर्घटना भएको हो ।

धादिङको भकारे स्थित प्रहरी चौकीका इनिस्पेक्टर सन्तकुमार लामाले हरपल नेपाल डटकमसँगको कुराकानीमा त्यहाँ प्रहरी र स्थानीय युवाहरुको टोलीले उद्धारको कार्य गरिरहेको बताए । इनिस्पेक्टर लामाका अनुसार बसमा कति जनाले यात्रा गरिरहेका थिए भन्ने विवरण खुल्न नसकेको भएपनि केही मानिसहरु भने अझै फेला नपरेको र तिनीहरुको खोजि कार्य जारी रहको छ ।

इनिस्पेक्टर लामाले घाइते भएका मध्ये केहीलाई स्थानीय स्वास्थ्य चौकीमा र केहीलाई बेसीसहरमा उपचारको लागि लगिएको छ, र केहीको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार त्यहाँको स्थानीय रुटमा चल्ने बस बिग्रेको कारण बोर्डिङ स्कुलको उक्त बसमा यात्रु बोकीएको थियो र उक्त बसको छतमा सामानहरु मिलाउने क्रममा बस अचानक ओरालोतर्फ गुड्दै रोडभन्दा करिब ३०० मिटर तल खस्दा दुर्घटना हुन पुगेको हो ।

अहिले सबैको ध्यान हराएका यात्रुहरुको खोजिमा रहेको र त्यहाँ थप प्रहरी समेत खटाउने तयारी भैरहेको बताइएको छ । घटनाको विषयमा पुरा विवरण आउन बाँकी छ ।