पत्रकार एवम् साहित्यकार केवलको निधन

काठमाडौँ । पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढलेका उनलाई उपचारको लागि बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले तत्क्षण उनको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्नुहुने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गरेका थिए । पछिल्लो समयमा पनि उनी नेपाली जनसरोकार मासिकको सम्पादकसमेत रहेका थिए । साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उनि कार्यरत रहेका थिए ।

केवलका आधा दर्जन कृति प्रकाशित छन् । पछिल्लो पटक उहाँको गुरुङको उद्भव र संस्कृति सम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो ।

केवलका बुबासहित दाजुभाइ चितवनबाट बसाइँसराइ गरी जाने क्रममा अन्तै पुग्नुभयो । उहाँका बुबामात्र तनहुँ पुग्नुभयो र त्यहाँ तिवारीको सट्टा केवल लेख्न थालेका हुन । साहित्यकार मेदिनीले पनि पितालाई पछ्याउँदै केवल नै लेख्न थालेका छन ।

तनहुँको रुपाकोट पुख्र्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोवास गरेका थिए । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी रहेका छन । रासस