आचार्यका कवितामा रुपान्तरणको सन्देश

काठमाडौ‌ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा तीन वर्षदेखि भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ३७ औँ शृङ्खलामा कवि विधान आचार्यले आफ्ना एक दर्जन कविता पावर प्वाइन्टका माध्यमबाट प्रस्तुत गरेका छन ।

हरेक महिनाको दोस्रो शुक्रबार काठमाडौँ उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ सो शृङ्खला थालनी गरिएको मञ्चका अध्यक्ष राम विनयले जानकारी दिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्रष्टाले साहित्यका माध्यमबाट मुलुकमा एकता र शान्तिको सन्देश दिनुपर्ने बताए ।

वाचित कवितामाथि टिप्पणी गर्दै साहित्यकार श्यामलले आचार्यको उनका कविताले रूपान्तरणको सन्देश सम्प्रेषण गरेको र मुलुकको माया गर्नुपर्ने आग्रह गरेको बताए ।

महासङ्घका अध्यक्ष खगेन्द्र राईले अब यो यात्रामा लघुकथाले समेत प्रवेश पाउनु उपयुक्त हुने सुझाव दिँदै यस्ता कार्यक्रम खुला चोक र मोफसलमा समेत लैजान प्रयत्न गरिनुपर्छ र साहित्यलाई जनतासँग जोड्नुपर्छ भने ।

मञ्च काव्य विभाग प्रमुख डा विन्दु शर्माले आचार्यका कवितामा गहनता रहेको र उनी सुन्दर विम्बयोजनाका साथ ओजपूर्ण अभिव्यक्ति सम्प्रेषण गर्न सफल रहेको धारणा राखे । आगामी अठ्तिसौँँ शृङ्खलामा उमेश उपाध्यायलाई प्रस्तुत गरिने जानकारी मञ्चका उपाध्यक्ष रमेश पोखरेलले दिए । रासस